रियलको जितमा पुरानै कथा
परिस्थिति उस्तै रह्यो । सुरुमै गोल । लगातार आक्रमण । अतिरिक्त समयको खेल । अनि सनसनीपूर्ण अन्त्य । नतिजा पनि समान रह्यो । रियल म्याड्रिडले शनिबार राति एट्लेटिको म्याड्रिडलाई हराएर च्याम्पियन्स लिग जित्यो । तीन वर्षमा रियलले उही छिमेकी टिमलाई हराएर उपाधि जितेको यो दोस्रोपल्ट रह्यो । अब रियलले युरोपेली उपाधि जितेको कीर्तिमान ११ पल्ट पुगेको छ । संयोग कस्तो भने रियलले एट्लेटिकोले भन्दा ११ पल्ट नै बढी यस्तो उपलब्धि चुमेको हो । यसले पनि देखाउँछ, एउटै सहरका दुई क्लबको भिन्नता । सन् २०१४ को फाइनलमा यिनै दुई टिम भिड्दाको कथा फेरि देखियो । सानसिरोमा भएको खेलमा एट्लेटिकोले बदला लिन सकेन । त्यतिबेला रियलले सुरुमा गोल खाएको थियो । तर अन्त्यतिर गोल फर्काउन सफल रह्यो । अतिरिक्त समयमा रियलले तीन गोल थप्यो । यसपल्ट रियलले सुरुमा गोल गरेको थियो, एट्लेटिकोले अन्त्यतिर बराबरी गोल फर्कायो । त्यो १–१ को बराबरीले खेल टाइब्रेकरमा पुग्यो र पेनाल्टी सुटआउट रियलको पक्षमा ५–३ ले रह्यो । खेल सकिँदा क्रिस्टियानो रोनाल्डोले जर्सी फुकालिसकेका थिए । पूरा खेलमा उनी शान्त जस्तै देखिए । उनी चोट बोकेर पनि खेलिरहेका थिए । तर उनैलाई विजयी गोलको अवसर दिइएको थियो, जतिबेला जुवानफ्रान एट्लेटिकोको चौथो पेनाल्टीमा चुकेका थिए । चोटग्रस्त थिए अथवा थिएनन्, मतलब भएन । रोनाल्डोले मज्जाले पेनाल्टीलाई गोलमा परिणत गरे । र, उनले त्यसपछि जर्सी फुकाल्न बिर्सेनन्, टिमका बाँकी सदस्य भने उनीतर्फ दौडिए । गेराथ बेल हावामै उडे । मार्सेलो भने नाचे । लगत्तै रोनाल्डोले आफ्ना व्यवस्थापक जिनेदिन जिदानसँग खुसी साट्न बिर्सेनन् । जिदान रियलका पूर्वखेलाडी हुन् र यसक्रममा यी फ्रान्सेली स्टार व्यवस्थापक र खेलाडी दुवैका रूपमा च्याम्पियन्स लिग जित्ने सातौं भाग्यमानी बने । जितपछि रोनाल्डोले भने, ‘मैले जिदानसँग पाँचौं प्रहार मागेको थिएँ, किनभने म विजयी गोल चाहन्थें । यस्तै भयो पनि ।’
रियलको जितमा पुरानै कथा
Reviewed by Unknown
on
1:02 AM
Rating:

No comments: